चितवन । चितवनमा पछिल्लो एक वर्षमा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । ती दुर्घटनामा परि ९७ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७४ ७५ को चैत मसान्तसम्ममा गतवर्ष भन्दा यसवर्ष केही सवारी दुर्घटना संख्या घटे पनि मानिसको मृत्युदर भने बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले गत वर्ष भन्दा यसवर्ष सवारी दुर्घटनामा केही वृद्धि भएपनि मानिसको मृत्युदर भने घटेको बताउनुभयो ।
सवारी दुर्घटना न्यूनीकरणको प्रयासहरु धेरै गरेको तर दुर्घटना केही बढेपनि मानिसको मृत्युदर भने केही घटेको ट्राफिक प्रमुख पन्तले बताउनुभयोे । उहाँले नयाँ वर्ष २०७५ संगै सचेत भएर सवारी साधन चलाउन सबैमा आग्रह गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार २०७४ वैशाख १ देखि चैत मसान्तसम्ममा विभिन्न ठाउमा गरी एक सय ९५ वटा सवारी दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाए । ती दुर्घटनामा परी तीन सय ७१ जना घाईते भएका छन् । गत वर्ष २०७३ वैशाखदेखी चैत मसान्तसम्ममा एक सय ८२ वटा सवारी दुर्घटना भएका थिए ।
त्यस दुर्घटनामा परी एक सय २९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार एक सय सवारी साधन कारवाहीमा परे ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५ सय ९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले दुई करोड २४ लाख ५१ हजार रुपैयाँ राजश्व उठाएको छ । गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार दुई सय ५० सवारी र मादक पदार्थ सेवन गरी सवारी चलाउने मात्रै एक हजार एक सय ८६ जनालाई कारवाही गर्दै दुई करोड ४५ लाख ६८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमहरुलाई पनि निरन्तर अघि बढाई रहेको छ । चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाहरुको समन्वयमा ३१ वटा भन्दा बढि कार्यक्रमहरु गरेको छ । यी कार्यक्रमहरुलाई आगामि दिनमा पनि निरन्तरता दिईने ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४