काठमाडौँ । दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।
प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाईँले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए।
सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ। बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताए। नयाँ बस सञ्चालनका लागि दुबै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०७४