चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले सोँचे अनुसार कार्यप्रगती गर्न नसकेको स्वीकार गर्नु भएको छ । नगरकार्यपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले विभिन्न अवरोध र अफठ्याराका कारण चाहेर पनि काम गर्न नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो–“सबै जनप्रतिनिधिलाई काम गर्ने तिव्र इच्छा छ, तर विभिन्न जटिलताले अलमलमा परेको महसुस भएको छ ।”
भरतपुरमा मात्र नभई देशै भरका स्थानीय तहमा यही अवस्था सिर्जना भएको मेयर दाहालको भनाई छ । उहाँले अन्य महानगरको तुलनामा भरतपुर महानगरले एक कदम माथि रहेर काम समेत गरिरहेको दावी गर्नुभयो । उहाँले भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क बहिरङग (ओपीडि) टिकटको व्यवस्था, भरतपुरका बसपार्कमा निःशुल्क वाईफाई, सडक बत्ती, पार्किङ व्यवस्थापनलगायतका कामहरु महानगरले गरेको जानकारी दिनुभयो ।मेयर दाहालले महानगरले पछिल्लो समय वृद्धि गरेको कर र दायराको विषयमा समेत प्रष्ट पार्नु भएको छ ।
उहाँले उद्योग वाणिज्य संघ र महानगरबीच कुनै विवाद नरहेको भन्दै सबैको सल्लाह र सहमति मै कर निर्धारण गरिएको दावी गर्नुभयो । उहाँले ठूला व्यवसाय र उद्योगमा कर वृद्धि गरिएको स्वीकर गर्दै जनतासंग सरोकार राखिएको विषयमा भने धेरै कर वृद्धि नगरिएको स्पष्ट पार्नुभयो ।
करको सम्बन्धमा राजश्व परामर्श समिति बनाएको भन्दै त्यही समितिबाट नै समस्या समाधान गरिने मेयर दाहालले बताउनुभयो ।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीबीच छलफल हुँदा महानगरका करका विषयमा विभिन्न त्रुटीहरु भेटिएका कारण त्यसलाई सच्याउन माग गरिएको बताउनुभयो । महानगरको कर प्रणाली बैज्ञानिक नभएकाले सच्याउन आवाज उठाईएको अध्यक्ष प्रधानको भनाई छ ।यस्तै चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले कर तिर्ने विषयमा व्यवसायीहरु एकमत भएको भन्दै समृद्ध महानगर बनाउने अभियानमा साथ दिने बताउनुभयो ।
कर प्रणालीमा देखिएका त्रुटीहरु सच्याउनुपर्ने उहाँको माग छ । अहिलेसम्म महानगरपालिकाले गरेको कार्यशैली प्रति सन्तुष्ट नरहेको भन्दै नौ महिनाको कार्यप्रगती उत्साहजनक नभएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाले एक अर्ब आय र्पुयाउन कर वृद्धि गरिएको स्पष्ट पारेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले आन्तरिक आय वृद्धि गर्नुपर्ने भएकाले कर र करको दायरा बढाएको बताउनुभयो ।
भरतपुर महानगरपालिका कायम राख्नका लागि एक अर्ब आय हुनुपर्ने भएकाले व्यवसायीक करबाट मात्रै दश करोड प्राप्त गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । उहाँले कर प्रणाली बैज्ञानिकसंगै दायरा फराकिलो बनाईएको बताउनुभयो । अधिकृत जोशीले स्थानीय सरकार संचालन ऐन २०७४ अन्तरगत कर निर्धारण गरिएको बताउनुभयो । पूँजीगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसायीक बढाईएको उहाँको भनाई छ ।
जोशीले करका विषयमा कार्तिकदेखि निरन्तर छलफलमा रहेको र सोही छलफलको आधारमा कर लागु गरिएको दावी गर्नुभयो ।यसअघि एक सय १५ प्रकृतिका व्यवसायीहरुलाई कर लगाउँदै आएकोमा हाल २०८ प्रकृतिका व्यवसायीहरुलाई कारको दायरामा ल्याउने निर्णय गरिएको महानगरले जनाएको छ । ती मध्ये होटल, अस्पताल र प्राविधिक शिक्षालयहरुमा करको दर बढाएको महानगरले जनाएको छ । हालसम्म दश हजार व्यवसायीहरुले महानगरमा कर तिर्दे आईरहेका छन् ।भरतपुर महानगरपालिकामा स्थानीय जनप्रतिनिधि निर्वा्चित भएपछि सोमवार पहिलो पटक पत्रकार सम्मेलन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४