पर्वत । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरणको प्रयास गरिएको छ। बालिका अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ ।
बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो ।
रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु भएको हो । कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानीयवासी चिरञ्जीवी केसीले देखेका थिए ।
केसीले सोधखोज गर्न थालेपछि मृतक रुचाल भाग्न खोज्दा भिरबाट खसेका थिए । बालिका छाडेर भाग्ने क्रममा भिरबाट खसेका ती युवा भिरबाट २०० मिटर तल पुगेका थिए । भिरबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, चैत १७, २०७४