चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी निर्माण योजना तयार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गरेका थिए ।
सोही वमोजिम काम अगाडि बढेको छ । सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गरेकाले ती पुललाई नक्सांकन सहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताए ।
श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताए । उनले ती पुल एक वर्षभित्रमा सम्पन्न गर्ने दाबी गरे ।
पुल निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेकोउनले जानकारी दिए। निर्माणाधिन नारायणगढ मुग्लिन सडकमा चार वटा पुल निर्माण भईरहेका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहेका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताए । हाल रहेका पुल नभत्काईकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिने उनले जानकारी दिए ।
सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ । भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाच दशकलव पँच देखि ६ मिटर फराकिला रहेका छन् ।
पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाथ हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४