काठमाडौँ । आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै छन्। उनले अवकास पाउन लागेसँगै सशस्त्रमा नयाँ अाइजीपी बन्नका लागि दौडधुप सुरू भएको छ ।
भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालको दाबेदारी बलियो छ। अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्को लबिङमा छन् ।
खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपीका लागि दौडधुप गरिरहेका छन्।
अर्द्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल मुख्य दाबेदार हुन्।
सशस्त्र प्रहरीमा हाल ११ जना एआईजी छन् । जसमध्ये आईजीपी श्रेष्ठका ब्याची प्रेमकुमार शाही र प्रकाश ओझा उनीसँगै २९ चैतमा अनिवार्य अवकाशमा जाने भएकाले बिदा बसिसकेका छन् ।
वरिष्ठ दुई एआईजी शाही र ओझा बिदामा बसेकाले अहिले खनाल नै एक नम्बरका एआईजी हुन् । खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो ।
ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमतालगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो । त्यसबेला खनालसँगै जितबहादुर पुन पनि एआईजी बनेका थिए ।
ओली सरकारको यो निर्णयविरुद्ध केसी र तत्कालीन डीआईजी उत्तम खड्काले लोकसेवा आयोगमा उजुरी दिएका थिए । तर, लोकसेवा आयोगले ओली सरकारको निर्णय ठीक भएको भनेपछि डीआईजी खड्काले सर्वोच्च अदालतलाई गुहारेका थिए । अदालतले समेत खनालको बढुवा गर्ने तत्कालीन सरकारको निर्णय सही रहेको ठहर गरेको थियो ।
खनालसँगै एआईजी बनेका पुनले ३ फागुन २०७३ मा अवकाश पाइसकेकाले खनाललाई आईजीपी बन्न सहज ढंगले बाटो खुलेको हो । खड्काले भने डीआईजीबाटै अवकाश पाइसकेका छन् ।
खनाल एआईजी भएको करिब ११ महिनापछि २१ वैशाख २०७४ मा पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल एआईजीमा बढुवा भएका थिए । उनीहरू एआईजीमा बढुवा भएको अहिले १० महिना मात्रै भएको छ । उनीहरूसँग एआईजीको एक वर्षे कार्यकालको अनुभव छैन ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४