चितवन । भरतपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिने भएको छ । नागरिक उड्यनलाई सुरक्षित,भरपर्दाे र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो । नयाँ बर्ष २०७५ सालदेखी लागुहुनेगरी विमानस्थल सुरक्षा समीतिबाट कार्यविधी तयार पारिएको छ ।
हवाई सुरक्षा सम्वन्धी अन्तर्राष्ट्रिय मापदण्ड,ऐन,नियमको परिपालना गराउन कार्यविधी तयार पारिएको भरतपुर नागरिक उड्यन प्राधिकरणका प्रमुख पवन गौतमले जानकारी दिए । विभिन्न पक्षसंगको छलफल र सुझावका आधारमा कार्यान्वयन गरिने गौतमले वताए ।
बुधवार कार्यालयले जिल्लाका प्रमुख राजनैतिक दलका प्रतिनिधी र पत्रकारसंग कार्यविधिका विषयमा छलफल गरेको छ । विमानस्थलको चारकिल्ला भित्र विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेर आवश्यकताका आधारमा सुरक्षा जाँच गराई प्रवेश गराइने कार्यविधिमा उल्लेख छ ।
विमान उडान, अवतरण हुने क्षेत्र र सोसंग जोडिएका तारवार, पर्खाल, भवन, टहरा तथा पार्किङ, टर्मिनल भवन, कन्ट्रोल टावर, ह्याङ्गर क्षेत्र, पेरिफेरी रोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै विमानस्थल वाहिर जडान भएका वा निर्माण भएका हवाई परिवहन सम्वन्धी आवश्यक यन्त्र, उपकरण, भवन, टहरा तथा टर्मिनल भवनको भिभिआईपी र सिआईपि कक्षलाई निषेधित क्षेत्र तोकिएको छ । निषेधित क्षेत्रमा यात्रुलाई आवश्यक कागजात र उडान कागजातका आधारमा कार्यालय प्रमुखले जारी गरेको निषेधित क्षेत्र प्रवेश पासको आधारमा प्रवेश अनुमती दिने व्यवस्था गरिएको प्रमुख गौतमले वताए ।
“विमानस्थलमा सवारी प्रबेश, पार्कीङ व्यवस्थापनमा कडाई गरिएको छ गौतमले भने,अनावश्यक व्यात्तिको प्रवेश र भिडभाडमा रोक लगाइएको छ । विमानस्थलको भिआईपि कक्ष नेपाल राजपत्र भाग ५ अनुसार नेपाल सरकारका उपरथी,अतिरिक्त महानिरीक्षक वा सो सरह र सो भन्दा माथिका पादाधिकारीलाई प्रवेश दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै विमानस्थल प्रमुखले परिचय खुल्ने कागजातका आधारमा नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरु,प्रमुख जिल्ला अधिकारी,राजपत्रांकित प्रथम श्रेणी सरहका अन्य सार्वजनिक निकायका पदाधिकारीहरु,जिल्ला सुरक्षा निकायका प्रमुखहरुका लागी भिआईपी कक्ष उपलव्ध गराउन सकिने प्रमुख गौतमले वताए । राजनैतिक पार्टीको हकमा परिचय खुल्ने कागजातका आधारमा पार्टी केन्द्रिय पदाधिकारी सम्मलाई भिआईपी कक्ष उपलव्ध गराउने उनको भनाई छ । विमानस्थलमा हाल संचालन भैरहेको सिआईपि कक्ष हटाई स्तनपान कक्ष र असाय विरामी कक्षा निर्माण गरिने गौतमले जानकारी दिए ।
विमानस्थलमा भिभिआईपी र भिआईपि स्वागतमा अहिले भैरहेको अस्तव्यस्तता हटाई व्यवस्थित बनाउने कार्यविधि ल्याइएको कार्यालयले जनाएको छ । भिआईपी कक्षमा प्रवेश कार्यालयले उपलव्ध गराएको पासका आधारमा दिइने र भिभिआईपी आउँदा १५ जना सम्म र भिआईपि आउदा वढिमा १० जनासम्मलाई प्रवेश पास दिइने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलन भिभिआईपिको हकमा बाहेका अन्य अवस्थामा बाहिर नै पत्रकार सम्मेलन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । एमाले चितवनका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले सुरक्षाका दृष्टीले विमानस्थले अघि सारेका योजना राम्रो भएको भन्दै सहज व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । उनले विमानस्थलको व्यवस्थापनले चितवनवासीको परिचय झल्कने भएकाले राजनैतिक दलका तर्फवाट सहयोग हुने आश्वासन दिए ।
भरतपुर विमानस्थलले जारी गरेको कार्यविधी कार्यान्वयनमा चुनौती भएपनि काठोरताका साथ कार्यान्वयन गरिनुपर्ने नेपाली काँग्रेस चितवनका सचिव राजिव न्यौपानेले वताए । उनले विमानस्थल विस्तार गरेर थप व्यवस्थीत बनाउनुपर्ने सुझाव दिए ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४