ललितपुर । एसर्इर्इ परिक्षाको उत्तरपुस्तीका वेवारिसे अवस्थामा फेला परेको छ। ललितपुरको महाँकाल श्रोत केन्द्र, गोटिखेलबाट मंगलबार परीक्षा दिएका एक परीक्षार्थीको उत्तरपुस्तिका बेवारिसे अवस्थामा भेटिएको हो ।
एक परीक्षार्थीको विज्ञान बिषयको पुस्तिका नं. ३०५८८९७ नम्बरको क्र.सं. ३२६५९६ को निरीक्षक र केन्द्रध्यक्षद्वारा हस्ताक्षरित उत्तरपुस्तिका भेटिएको हो ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्र पौडेलले एक विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षा केन्द्रमै भेटिएको बताउँदै कर्मचारीहरुले लापरबाही गरेको बताए ।
उत्तर लेखिसकेको एउटा पुस्तिका भेटेपछि त्यसलाई छुट्टै खाममा हालेर लाहाछाप गर्न लगाएको छु , उनले भने, यसले विद्यार्थीलाई कुनै असर पर्दैन, यो लापरबाहीबारे सोधखोज गरिरहेको छु ।
यो परीक्षा केन्द्रमा कुमार पाण्डे केन्द्राध्यक्ष थिए । विद्यार्थी ढिलो निस्केका कारण पुस्तिका छुट्न पुगेको दाबी कर्मचारीहरुले गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४