काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।
आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिए । यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।
यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४