काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा ठूलो चिनियाँ लगानी भित्रिने भएको छ। पिपल्स हाइड्रो लिमिटेडले ९ अर्ब बराबरको चिनियाँ लगानी भित्राउन लागेको हो।
कम्पनीले चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु)बाट करीव नौ अर्ब लगानी भित्राउने भएको हो। सो लगानी खिम्ती दुई जलविद्युत् आयोजना निर्माणमा लगानी गरिने पिपल्स हाइड्रोले जनाएको छ।
कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु १० अर्ब रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवर्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ ।
चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।
दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कूल ६.६ किलोमिटर लामो सुरुङमार्फत खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ ।
आयोजनाको हाल पहुँच मार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिए।
नेपालका जलविद्युत् आयोजनामा इपिसिएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो । यसअघि बूढीगण्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैँले निर्माण गर्ने निर्णय गरिसकेको छ ।
आयोजना सम्पन्न भएपछि मात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिए।
आयोजनाबाट हिउँदमा ४० गिगावाट प्रति घण्टा ऊर्जा उत्पादन हुने छ भने भने वर्षायाममा २२३ गिगावाट प्रति घण्टा ऊर्जा उत्पादन हुनेछ ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४