सिराहाः अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराएको छ।
विष्पोटमा परी ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।
अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास पसलका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उहाँका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुङ्गा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उनकी बहिनी विनिता यादव घाइते भएका छन्।
घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए।
बम विष्फोट कसले र किन गराएको भन्ने अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए।
यता विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ।
आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको छ।
यसअघि गत फागुनमा लहानका दुर्इ स्थानमा समेत विष्पोट भएका थिए।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४