चितवन । पछिल्लो समय नेपालमा सामाजिक संजालको दुरुपयोगका घटना धेरै सार्वजनिक हुन थालेका छन् । चितवन प्रहरीले यस्तै सामाजिक संजालको दुरुपयोग गर्दै रकम असुल्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाएर व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्लाको स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सापकोटालाई प्रहरीले आज भरतपुरको हाकिम चोकबाट पक्राउ गरेको हो ।
सापकोटाले विगत केही दिनदेखि महिला तथा युवतीहरुलाई फेसबुक मार्फत साथी बनाई फोटो संकलन गर्ने, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरि रकम असुली गर्ने गरेको प्रहरीले जनाएको छ । उनले पछिल्लो समय भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने जमुना (नाम परिवर्तन) लाई अश्लिल फोटो बनाएर व्ल्याकमेलिङ गरि माघ महिनामा ५० हजार रुपैयाँ लिएका थिए ।
पछि पुनः विभिन्न मोबाईल नम्बर मार्फत फोन गरि अश्लिल भिडियो सामाजिक संजालमा पोष्ट गरिदिने भन्दै ३ लाख रुपैयाँ माग गरेका थिए । तर युवतीले थप पैसा नदिई प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका हुन् । उनको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४