काठमाडौं त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ ।
चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।
यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् । हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।
जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो
दुई वर्षअघि नेपालमा युएस-बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस-बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो ।
तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने ।
नमस्ते एभिएसन ट्राभलबाट वंगलादेश घुम्न १४ जना समूहमै गएका थिए। काठमाडौंसँग हवाई सेवा सुरु गरेको वंगलादेशको नयाँ विमान सेवाको आतिथ्यमा घुम्न जाने १४ जनाको यो टोली सबै ट्राभल एजेन्सीसँगै जोडिएका थिए।
गएका मध्ये दुई जना आइतबार नै काठमाडौं फर्किए। बाँकी १२ जना सोमबार काठमाडौं फर्कँदै थिए । तर दुर्भाग्य, उनीहरु काठमाडौंस्थिति त्रिभुवन विमानस्थलमा दुखद् रुपमा उत्रिए। १२ जनामध्ये ३ जनाको त मृत्यु भइसकेको छ। अरु घाइते छन् र जीवन मृत्युबीचबीचको संघर्षमा अस्पतालको शैयामा छन्।
सजना देवकोटा, हरिशंकर पौडेल र प्रविण चित्रकारको मृत्यु भइसकेको छ जो यही समूहमा रहेर वंगलादेश घुम्न पुगेका थिए। बाँकी ९ जना जीवन मरणको बीचमा छन्। उनीहरुमध्ये ६ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी ३ जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
साजनाले शनिबार फोसवुकमा युएस बंगला एयरलाइन्सको अवार्ड प्रोग्राम भन्दै फोटो हालेकी छिन् । उनको त्यो फोटो नै अन्तिम भयो ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४