चितवन । नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने अायोजनाले दाबी गरेको छ । पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ।
निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। राति बाटो बन्द गरेर सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न सुरु गरिएको छ।
सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ। पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण सुचारु गर्ने निर्णय गरेको थियो। करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ।
आयोजनाका सूचना अधिकारी खनालले दिउँसो यातायातको चाप बढी हुने भएपछि राति बाटो बन्द गरेर चट्टान कटान गर्न लागिएको बताए।
साउन १७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले र तीन साताअघि मात्र मुख्यमन्त्री डोरमणि पौडेलले सडक अनुगमन गरेका थिए। प्रधानमन्त्री देउवाको स्थलगत निरीक्षणयता करिब १६ प्रतिशत काम भएको छ। चाडपर्व र निर्वाचनको कारण कामको प्रगति हुन नसकेको आयोजनाले जनाएको छ।
सडक निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन्। आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेभीले जिम्मा लिएका हुन्। अहिलेसम्म १४ किलोमिटर कालोपत्रे गरिएको छ।
आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष्यसाथ काम अघि बढाइएको छ। ०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा-नारायणगढ सडकको नाममा निर्माण गरिएको यो सडक साँघुरिए पनि सवारीसाधनको चाप उच्च छ। अहिले दैनिक आठ हजारभन्दा बढी गाडी गुड्ने गरेको छ। ०७१ चैत (सन् २०१५ अप्रिल) बाट नारायणगढ-मुग्लिन सडक स्तरोन्नति काम सुरु भएको हो।
विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ-मुग्लिन सडक आयोजनाको काम थालिएको हो। तोकिएको समयमा काम सम्पन्न नहँुदा पटक-पटक म्याद थपिँदै आएको छ। तेस्रोपटक थपिएको म्यादअनुसार फेब्रुअरी २० सम्म काम सक्नुपर्ने छ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४