काठमाडौं । बीचमा कुनै बाधा नअाए अागामी अशोज देखि नेपाली भूमिमा पनि रेल कुद्ने छ । न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर-जयनगर-बर्दिवास खण्डको जयनगर-जनकपुर-बिजलापुरसम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगामी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।
उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ। यसमध्ये २०७५ को असोजसम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ । बाँकी ३५ किमिका लागि भने नेपाली भूमितर्फ जग्गा अधिग्रहणकै काम बाँकी छ ।
भारतले निर्माण गरिरहेको ७० किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा र ६७ किमि नेपाली भूमिमा पर्छ। नेपाल सरकारले चालू आव २०७४/०७५ मा रेलमार्ग बनाउन विनियोजन गरेको चार अर्ब रुपैयाँ विनियोजन गरेकामा यस रकमको पहिलो प्राथमिकता पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको पूर्वी खण्डको ३० किलोमिटर रेलमार्गमा परेको छ।
यस रकममध्ये विभागले हाल एक अर्ब रुपैयाँ खर्चिसकेको छ। यस्तो रकमबाट भारतले निर्माण गरिरहकेको सिमानासँग जोड्ने गरी महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किलोमिटर रेलमार्ग निर्माण ८० प्रतिशत सकिएको छ।
चालू आवको बजेटबाटै विभागले बर्दिवासदेखि काँकडभिट्टासम्मको २४७ किमि रेलमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ। बुटवल-गड्डाचौकी (४२१ किमि) रेलमार्गको डीपीआर बनाउने काम पनि हालसम्ममा ३० प्रतिशत सकिएको छ।
विभागले काठमाडौं-वीरगन्ज विद्युतीय रेलमार्गको पनि डीपीआर बनाउन परामर्शदाता छनोट गर्ने काम गरिरहेको छ । विभागले चालू आवमा विनियोजित बजेटमध्ये अर्धवार्षिक समीक्षा अवधिसम्ममा चार अर्बको ३६ प्रतिशत अर्थात् एक अर्ब ४४ करोड रकम खर्चिको उल्लेख छ।
रेल विभागले आफ्नै रेल खरिद गर्नुपर्ने माग गरेर सरकारसँग तीन अर्ब बजेटको प्रस्ताव गरेको भनिएपछि अहिलेसम्म रेल किन्ने विषयमा कुनै योजना नबनेको उपाध्यायले बताए। उनले भने, ‘नेपाली भूमिमा आफ्नै रेलमार्ग निर्माणको काम धमाधम भइरहको छ, नेपाली भूमिसम्म भारतीय रेलमार्ग सुनिश्चित भइसकेको छ। नेपालले पनि पूर्वपश्चिम रेलमार्ग अन्गर्तगको बर्दिवास–सिमरा खण्डको एक भाग पूरा गर्दै छ।
भारतीय सिमाबाट नेपाल जोडिने र एक-दुई वर्षभित्रै नेपालले पनि बर्दिवास–सिमरा खण्डको एक सय आठ किमि रेलमार्ग तयार पार्ने भए पनि आफ्नै रेल कुँदाउने योजना बनाउने भने ढिलो भइसकेको छ। सरकारी सहयोग हुने हो र आवश्यक जनशक्ति र बजेट भए नेपालको आफ्नै रेल दौडाउन सकिने विभागको भनाइ छ।
नौ सय ४५ किलोमिटरको पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमै भारतीय कम्पनी राइट कन्सल्यान्ट्सले सभाव्यता अध्ययन गरेको थियो। अध्ययनबाट नेपालमा रेल सम्भावना देखिएको हो। सरकारले राष्ट्रिय गौरवको आयोनजानको रूपमा यसलाई अगाडि सारेको भए पनि उल्लेख्य रकम र जनशक्ति नहुँदा देखाउनलायक काम अझै बनिसकके छैन।
भारत सरकारले नेपाल जोड्ने दुई वटा रेलमार्ग निर्माण गर्दै छ। जोगवनीदेखि विराटनगरसम्मको १८ किमि र जयनगरदेखि जनकपुर हुँदै वर्दिवासम्मको ६९ किलोमिटरमा काम गर्दै छ। यो रेलमार्ग नेपालका लागि क्रसबोर्डर कनेक्टिभिटी हो। यी दुवै मार्ग पूर्वपश्चिम रेलमै आएर जोडिन्छन्। भारत सरकारले जयनर–जनकपुर पूर्वपश्चिममै ल्याएर जोड्दै छ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४