काठमाडौँ । सरकारले प्रधानमन्त्रीलार्इ थप शक्तिशाली बनाउने गरी विभिन्न कार्यालयलार्इ अाँफू मातहत ल्याउने प्रक्रिया अगाडि सारेको छ ।
सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको छ ।
‘शक्तिशाली प्रधानमन्त्री’ को अवधारणाअनुरूप यस्तो प्रयास भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् । शक्ति धेरैतिर छरिँदा निर्णय लिनै असहज हुने भन्दै प्रधानमन्त्री केपी ओलीले नै यस्तो अवधारणा अघि सारेका हुन् ।
कस्तो संयन्त्र बनाउने भन्नेबारे प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित मन्त्रालयसम्मले उनलाई सुझाव दिइरहेका छन् । बिदाको दिनसमेत मन्त्रालय पुगेर सुझाव तयार पार्ने काम भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाए ।
सरकारले प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलार्इ समेत ल्याउँदै छ । अनुसन्धान विभाग गृह मातहत र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत थिए । त्यस्तै अर्थ मातहत नै रहेको सम्पत्ति शुद्धीकरण विभाग पनि अब प्रधानमन्त्री कार्यालय मातहत ल्याइने छ ।
त्यस्तै गैसस/अन्तर्राष्ट्रिय गैसससम्बन्धी मापदण्ड निर्माण र अनुगमनलार्इ पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४