चितवन । चितवनमा औद्योगिक शिक्षालय निर्माण हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ कविलासमा औद्योगिक शिक्षालय निर्माणको तयारी भइरहेको छ । चितवन उद्योग संघले औद्योगिक शिक्षालय निर्माण गर्न लागेको हो ।
औद्योगिक शिक्षालय निर्माणको लागी अहिले डिपिआरको काम सुरु भएको छ । चितवन उद्योग संघले भरतपुर महानगरपालिका २९ ,साविक कविलास गाविसको जुरेथुम्कामा ५ बिगाहा जग्गामा औद्योगिक शिक्षालय निर्माणको तयारी गरेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।
पहिलो चरणमा करिब ५ करोडको लागतमा ५० जनालाई आवासिय सुविधा सहितको सुविधा सम्पन्न औद्योगिक शिक्षालय निर्माण गर्ने तयारी रहेको उनले बताए । नेपालमा प्रविधिक शिक्षालयहरु भएपनि औद्योगिक शिक्षालय नभएकाले अब निर्माण हुने शिक्षालय नेपालकै पहिलो औद्योगिक शिक्षालय हुने दुवाडीले बताए ।
नेपालमा अहिले उद्योगहरुले आवश्यकता अनुसारको जनशक्ती नपाएको उनले गुनासो गरे । नेपालका शिक्षीत जनशक्तीहरु व्यवहारिक रुपमा सक्षम हुन नसकेको र उनीहरुलाई थप सिकाउनुपर्ने र तालिम दिनुपर्ने बाध्यता रहेको उद्योगीहरुले बताए । नेपाल सरकारले प्रविधिक शिक्षालयमा गरेको लगानी युवा जनशक्तीलाई विदेश पठाउन प्रमाणपत्र बितरणको लागी मात्रै गरेको लगानी भएको उद्योगीहरुले आरोप लगाएका छन् ।
औद्योगीक शिक्षालयको निर्माण पछि उद्योगहरुको आवश्यकता अनुसारको जनशक्ती उत्पादन गर्न सकिने चितवन उद्योग संघको दाबी रहेको छ । यसैबिच शनिबार चितवन उद्योग संघ र नेपाल पत्रकार महासंघको टोलीले औद्योगिक शिक्षालय निर्माण स्थलको अवलोकन गरेको समेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४