धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विस्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम मंगलबार प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गर्नुभएको छ । प्रस्तावको विपक्षमा १० मत परेको थियो ।
बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा मुख्यमन्त्री भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ र प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमा प्रदेश सभा सदस्यद्वय नेकपा माओवादी केन्द्रका वीरभान चौधरी र नेकपा एमालेका तारा लामा तामाङले समर्थन जनाएका थिए ।
प्रदेश सभामा कूल ५३ प्रदेश सदस्यमध्ये आजको बैठकमा ४९ सदस्य उपस्थित रहेकामा काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम र गोविन्दराज बोहरा अनुपस्थित थिए ।
यसैबीच मंगलबारको बैठकमा राष्ट्रिय जनता पार्टीका मालामती रानाले कीर्ते अभियोग लागेका एमालेका सांसद नवराज सिलवाललाई शपथ ग्रहण गराउने तर कैलालीबाट निर्वाचित रेशमलाल चौधरीलाई शपथ ग्रहण नगराई राज्यबाट थारू समुदायलाई विभेद गरिएको धारणा राखेकी थिइन् ।
एमालेका लीलाधर भट्टले नियमापत्ति जनाएका थिए ।
भट्टले एमाले सांसद सिलवाल विरुद्ध कुनै पनि मुद्दा दर्ता नभएको तर रेशमलालको मुद्दा अदालतमा विचाराधीन रहेकाले यो विषयमा संसद्मा उठाउन नमिल्ने तर्क गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक यही फागुन २६ गते दिनको १ बजे बस्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४