चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले इच्छा विपरीत लोला नहान्न र रंग नदल्न आग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिनुभयो ।
होलीका क्रममा गरिने ट्राफिक नियम उल्लङ्घन र लापरबाहीका कारण विगत वर्षमा हुने गरेका दुर्घटनाको क्रमलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना ल्याइएको ढकालले वताउनुभयो ।होली आउनु एक हप्ताअघि नै महिलाहरूलाई लोला हान्ने घरको छतबाट फोहोर पानी फ्याँक्नेजस्ता कार्यले समाजमा विकृति ल्याएको भन्दै उहाँले शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गर्नुभयो ।
होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको डि एस पि प्रभु प्रसाद ढकालले वताउनुभयो । उहाका अनुसार जिल्लाका सवै ठँउमा प्रहरी टोली परिचालन गरिने छ । मोवाइल टोली, र विभिन्न क्षेत्रमा चेकिङ टोली खटाइने उहाले वताउनुभयो । होलीका दिन ट्राफिक चेकजाँचलाई कडाई गरिने भन्दै उहाँले मापसे समेत चेक गरिने वताउनुभयो ।
अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलाई नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ । होलीमा आम नागरिकले पनि आफ्नै पर्व हो भन्ने दृष्टिबाट मनाउन जरुरी रहेको डि एस पि प्रभु प्रसाद ढकालले वताउनुभयो । यसवर्षको होली १७ गते पहाडमा र १८ गते तराइमा मनाइने छ । चितवनमा भने दुवै दिन मनाउने गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४