काठमाडौँ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको घेरामा हुने भएको छ । तीन संसद्को सुरक्षामा तीनवटै सुरक्षा निकाय खटाउने तयारी सरकारले गरेको हो ।
सुरक्षामा झन्डै पाँच सय प्रहरी खटिनेछन् । सशस्त्रले प्रत्येक सभामा एक–एक प्लाटुन खटाउनेछ । अनुसन्धान विभागबाट अावश्यकताअनुसार गुप्तचर परिचालित हुनेछन् ।
प्रतिनिधि र राष्ट्रिय सभाको एउटै ‘चेन अफ कमान्ड’
प्रहरीका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको सुरक्षाको ‘चेन अफ कमान्ड’ एकै ठाउँबाट हुनेछ । दुवै सभाको सुरक्षा कमान्ड एकै व्यक्तिबाट हुनेछ, एसपी त्यसको कमान्डर हुनेछन् ।
दुवै सभामा एक–एक प्रहरी नायब उपरीक्षक (डिएसपी) कार्यालय रहनेछ । सुरक्षासम्बन्धी अप्रेसन सोही कार्यालयबाट हुनेछ । सशस्त्रबाट एक–एक प्लाटुन खटिनेछन् । ‘प्रतिनिधि र राष्ट्रिय सभाको सुरक्षा कमान्ड एसपीले गर्नेछन् । दुवै सभाको सुरक्षाका लागि १५० सुरक्षाकर्मी खटिनेछन्,’ प्रवक्ता मनोज नेउपानेले भने ।
सात प्रदेश सभामा २४८ खटिए
गृह मन्त्रालयका अनुसार सातवटै प्रदेश सभा सुरक्षाका लागि २४८ सुरक्षाकर्मी परिचालन भइसकेका छन् । बाँकी एक सय खटाउने तयारी भइरहेको छ । प्रदेश १ र २ मा २१–२१ जना, प्रदेश ३ मा ५०, प्रदेश ४ मा १७, प्रदेश ५ र ६ मा ४०–४० जना र प्रदेश ७ मा ३० जना सुरक्षाकर्मी खटाइएका छन् । सबै सभामा इन्स्पेक्टरको कमान्ड छ ।
सुरक्षा र मर्यादापालकको जिम्मा एउटै टोलीलाई
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीले सभाको भित्री सुरक्षा गर्नेछन् । सशस्त्रले बाहिरी सुरक्षा हेर्नेछ । गुप्तचरले भने आवश्यकताअनुसार सबै स्थानमा खटिएर सूचना संकलन गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४