काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद् रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन्। चौधरीले जिल्ला अदालतल कैलालीमा सोमबार बिहान आत्मसमर्पण गरेको एसपी बिनोद घिमिरेले जानकारी दिए ।
टीकापुर घटनाका मुख्य आरोपित उनी प्रहरीको फरार अपराधीको सूचीमा थिए । प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए । टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए।
फरार रहेका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । तर, अदालतले वारेसमार्फत् प्रमाणपत्र दिन नमिल्ने आदेश गरेको थियो ।
चौधरीलाई जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।
प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका फरार अभियुक्त भनिएका चौधरी प्रहरीकै नाकमुनिबाट अदालतको इजलासमा हाजिर हुन पुगे । प्रहरी स्रोतका अनुसार कैलाली प्रहरीसामु सहयोगीमार्फत् आत्मसमर्पणको प्रस्ताव गरिरहेको चौधरी अचानक प्रहरीकै आँखा छलेर अदालत पुगेका हुन् ।
अदालतको मुख्य द्वारमा नै प्रहरी तैनाथ रहन्छ। सर्वोच्चका न्यायधीश रणबहादुर बमको हत्यापछि अदालतको प्रवेशद्वारमा प्रहरीले सोधपुछ गरेर मात्र प्रवेश दिने गरेको छ ।
‘उहाँसँग आत्मसमर्पणबाहेक अरु कुनै विकल्प थिएन,’ कैलालीका एसपी विनोद घिमिरेले भने, ‘हामीसँग पनि कुरा भइरहेको थियो, अदालत जानुभएछ, हामी आदेश पर्खिरहेका छौँ ।’
२०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा सात प्रहरी र एक बालकको मृत्यु भएको थियो। मारिनेहरुमा सेती अंचल प्रहरी कार्यालय धनगढीका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, नेपाल प्रहरी निरीक्षकद्वय बलराम विष्ट, केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द थिए । त्यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी, ललित साउद र स्थानीय नेत्र बहादुरसाउदका २ वर्षीय छोरा टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो ।
चौधरीलाई त्यसयता सो घटनाका योजनाकारका रुपमा प्रहरीले फरार मान्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४