चितवन । माडी बाँदरमुढे घटनापीडितको लगत संकलन कार्य सकिएको छ । लगत संकलन टोलीले घटनाका मृतक तथा घाइतेका परिवारलाई घरमै भेटघाट गरी लगत उठाएको थियो ।
‘एक महिनाभन्दा बढी समय लगाएर लगत संकलन कार्य पूरा गरेका छौँ’ लगत संकलन टोलीका संयोजक तथा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने, ‘मृतकका परिवार र घाइते गरी १३५ जनाबाट लगत संकलन गरिएको छ ।’
सधैँ बल्झिरहने बाँदरमुढे घटनापीडितको समस्या जरैदेखि समाधान गर्न लगत संकलन टोलीले माघ १० गतेबाट लगत संकलन कार्य सुरू भएको थियो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित ‘बाँदरमुढे घटना समाधान समिति’ले झापा, दमौली, पोखरालगायत विभिन्न ठाउँमा गएर लगत संकलन कार्य गरेको हो ।
बाँदरमुढे घटनामा झापाका एकै घरका चार जनाको मृत्यु भएको थियो ।
लगत संकलन टोलीका सदस्य तथा बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले सबैको माग समेटिने गरी लगत संकलन गरेको बताए । उनले भने, ‘लगत संकलन गर्ने काम पूरा भएको छ, अब पीडितका मागको विषयलाई कसरी उठान गर्ने, कहाँकहाँ पुग्ने भन्ने विषयमा छलफल गर्न बाँकी छ ।’
लगत संकलन टोलीमा बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष न्यौपानेसहित चार जना र नगरपालिकाका तीन जना प्रतिनिधि थिए ।
‘घटनाका पीडितहरु वास्तविक के चाहन्छन् ? उनीहरुलाई नै भेटेर लगत उठाएका छौँ । अब पीडितका मागहरु लिएर सम्बन्धित निकायमा जान बाँकी नै छ’ संघर्ष समितिका अध्यक्ष न्यौपानेले भने । उनले घटनाका पीडित परिवारले शिक्षा, रोजगार र न्यायोचित परिपूरणको माग गरेका बताए । उनले भने, ‘घटनाका घाइते र मृतकका परिवारले शिक्षादीक्षा, रोजगार, जीवनवृत्ति, घटनास्थलमा पार्क, स्मारक, न्यायोचित परिपूरणको माग गरेका छन् ।’
लगत संकलन टोलीले पीडितहरु जहाँजहाँ छन्, त्यहीँ गएर लगत उठाइरहेको हुनाले कोही नछुटेका माडी नगरपालिका प्रमुख ठाकुर ढकालले बताए । उनले भने, ‘कोही नछुटून् भनेर लगत उठाइएको छ, तर कोही छुट्न पुगेको रहेछ भने माडी नगरपालिकामा सम्पर्क गर्न सूचना निकालिएको छ ।’
बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष न्यौपानेले पीडितका मागहरु लिएर स्थानीयदेखि केन्द्र सरकारसम्म पुग्ने बताए । ‘स्थानीय तहले गर्न सक्ने पीडितका मागहरु यहीँ समाधान हुने र गर्न नसक्ने कामहरु प्रदेश तथा केन्द्रसरकारसँग अनुरोध गर्ने काम हुन्छ’ नगरपालिका प्रमुख ढकालले भने । माडी नगरपालिका घटनास्थलमा पार्क र स्मारक बनाउने काममा सकारात्मक रहेको उनको भनाइ थियो ।
निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पीडितपक्षसँग तीन बुँदै सहमति गरेका थिए ।
घटनाका पीडितसँग दाहालले मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति बालबालिकालाई निःशुल्क उच्च शिक्षा, घाइतेको निःशुल्क औषधि उपचार, घटनास्थलमा स्मारक, नमूना संग्रहालय र पार्क बनाउने सहमति गरेका थिए । त्यही सहमतिअनुसार नै लगत संकलन गर्ने काम भएको हुनाले ती मागहरु लिएर चितवन ३ बाट निर्वाचित निर्वाचित भएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्ने माडी नगरपालिका प्रमुख ढकालले बताए ।
विसं २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएका थिए । विष्फोटमा ३८ जनाको मृत्यु र ७२ जना घाइते भएका थिए । चितवन पोस्टबाट ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४