चितवन । आइतबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन अदालतले अर्को आदेश गरेको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको हो ।
मुलुकी ऐन–२०२० को अदालती बन्दोबस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई आगामी चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको हो । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ फागुन १३ गते आइतबारका लागि पेसी चढेकोमा अदालतबाट आइतबार बकपत्रको आदेश भएको हो ।
२०७२ फागुन २७ गतेबाट पेसी सर्दै आएको हो । हालसम्म यो मुद्दाको २० औं पटकसम्म पेसी मिति तोकिएको छ । यस मुद्दामा हालसम्म पटकपटक गरी नौ पटक आदेश र दस पटक विविध कारणले स्थगित भएको छ ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । अधिकारीको २०६१ जेठ २४ गते अपहरणपछि हत्या भएको थियो ।
छोरा कृष्ण अधिकारीको हत्या भएको भन्दै उनका बाबु नन्दप्रसाद अधिकारीले २०६१ जेठ २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यस जाहेरीमा कुनै पनि नाम किटानी थिएन । पहिलो जाहेरी दिएको एक वर्ष ६ महिनापछि उनले आरोपितको नाम नै किटान गरेर पुनः प्रहरीमा जाहेरी दिए ।
प्रहरीमा थन्किएर बसेको मुद्दा झण्डै १० वर्षपछि २०७१ चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । प्रहरी प्रतिवेदनको आधारमा १३ जना विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गराएका थिए ।
१३ वर्ष अघिको घटनामा अदालतले अझै सम्म फैसला गर्न सकेको छैन । आवश्यक प्रमाणहरु जुटाए पनि न्यायाधीशहरु यस मुद्दामा हात हाल्न अप्ठ्यारो मानिरहेका छन् । हाल यस मुद्दा चितवन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा छ ।
‘निर्वाचनमा व्यस्त हुँदा यो मुद्दा हेर्न नभ्याइएको हो, जिल्ला न्यायाधीश शर्माले मंसिर ४ गते अदालत परिसरमा भएको कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली समक्ष भनेका थिए ,‘चुनाव सकिने बित्तिकै म फैसला गर्छु ।’
मुद्दाको प्रगति
यसअघि प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएको भन्दै अदालतले अन्तिम पेसी २०७३ असोज ९ गतेका लागि तोकेको थियो । तर, फैसला हुन सकेन । आमा गंगामायाले २०७३ भदौ २७ गते अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदारसहितको टोलीले २०७३ असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेका थिए ।
२०७३ वैशाख २३ गते न्यायाधीश कविप्रसाद न्यौपानेबाट जाहेरवाला बुझ्ने आदेश भएको थियो भने २०७२ फागुन २७ गते न्यायाधीश बासु पौडेलबाट साक्षी बकपत्रको आदेश भएको थियो । तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले लिखित बहस नोट पेस गर्न २०७३ असोज ११ गते आदेश बमोजिम २०७३ कात्तिक ५ गते बहस नोट अदालतमा पेस भएको थियो ।
चार न्यायाधीशको थाप्लोमा
यस मुद्दाको किनारा लगाउने जिम्मा हालसम्म चार न्यायाधीशले पाएका छन् । तर, कहिले स्थगित, कहिले पेसी, कहिले आदेशको नाममा मुद्दा तीन वर्ष बढी लम्बिएको छ । सुरूमा न्यायाधीश बासुदेव पौडेलले हेरेको यस मुद्दा पछि क्रमश कविप्रसाद न्यौपाने, टेकप्रसाद कुँवर हुँदै हाल कुलप्रसाद शर्माको इजलासमा छ ।
को को हुन् आरोपित ?
गोरखा जिल्ला फुजेल ७ बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, ‘अजिव’ भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी भिमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ ।
चितवन पोस्टबाट ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४