चितवन । देशमा भित्रिने रेमिट्यान्सलाई जलविद्युतमा लगानी गर्दै आर्थिक सम्बृद्धि तर्फ लम्कनुपर्ने सन्देश सहित झापाका एक युवा मेची महाकाली साइकल यात्रामा निस्किएकाछन् ।
वेरोजगारीका कारण विदेशीएका युवाको परिश्रमको सम्मान र अब आउने पिढीलाई स्वदेशमै अवसर सृजना गर्न सरकारलाई दवावका लागि पनि आफुले साइकल यात्रा सुरु गरेको साइकल यात्री इन्द्रदेव पाठकले बताए ।
यही फाल्गुन दुई गते मेचीको जल लिएर निस्किएका झापाको शिवसताक्षी नगरपालिका ११ निवासी ४२ वर्षका पाठकले पश्चिम महाकाली पुगेर जल संकलन गरी आफ्नो यात्रा टुंग्याउने बताएकाछन् ।पूर्व र पश्चिमका नदीबाट संकलित जल सहितको घडा लिएर राष्ट्रपति समक्ष आफ्ना योजना र ध्यानाकर्षण पत्र बुझाउने संकल्प रहेको साइकलयात्री पाठकले आज नेपाल पत्रकार महासंघ चितवनमा पत्रकारहरुसंग कुराकानीको क्रममा बताएकाहुन् ।
२०७२ सालको भूकम्पमा आफ्नो दुबै खुट भांचिएर ६ महिना थला परेको स्मरण गर्दै साइकलयात्री पाठकले त्यही समयमा आफु र आफ्नो सोचमा परिवर्तन आएको बताए ।मान्छेले बांचेपछि समाज र देशमा नाम रहनका लागि केही गर्नै पर्छ भन्ने अठोटका साथ आफु साइकल यात्रामा निस्किएको उनको भनाई छ ।
पहिलो चरणमा मेचीमहाकाली यात्रामा निस्किएका पाठकले दोस्रो चरणमा भने विश्व साइकल यात्रामा निस्किने संकल्प गरेकाछन् । गाई संरक्षणको सन्देश बोकेर वेलायतकी महारानी समक्ष लाखौं हस्ताक्षर सहित पुग्ने संकल्प रहेको उनले बताएकाछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४