ललितपुर । पुरूषले महिलामाथि बलात्कार गरेको घटनाहरू छ्यापछ्प्ती सार्वजनिक भइरहेका बेला एक पुरूषले अर्को पुरूषमाथि बलात्कारको अारोप लगाएका छन् । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको हो ।
अाफ्नै मातहतका कर्मचारीहरूबिच यस्तो अारोपप्रत्यारोप चल्न थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली नै गठन गरेको छ । अहिले गोदावरी नगरपालिका- ५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ ।
सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। यसबीच विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्यायो। अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे।
त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो। घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन् । आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनले गरेका छन् ।
एक्लै हुँदा आफूमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गर्ने गरेकोसमेत उनले अारोप लगाएका छन् । सिलवालले लेलेमा मेडिकल पसल सञ्चालन गर्दै आएका छन् । महिलाले गर्भाधान रोक्न प्रयोग गर्ने ‘संगिनी सुई’का कारण उनीहरूबीच असमझदारी भएको लेले चौकी प्रमुख नारायण भण्डारीले बताए। साहले सिलवाललाई स्वास्थ्य चौकीबाट संगिनी सुई दिने गर्थे। सिलवाललाई दिइँदै आएको सुई उपलब्ध गराउन छाडेपछि यौनसम्बन्धको पोल बाहिरिएको हो।
तर सिलवालले मौखिक र अन्तर्वार्तामा समेत आफू बलात्कृत भएको बताए पनि प्रहरीमा जाहेरी भने दिएका छैनन्। तर उनले गत असोज २० गते सोही वडाका रवि सिलवालविरुद्ध आफूमाथि छक्काको आरोप लगाएको भन्दै महानगरीय प्रहरी वृत्त चापगाउँमा जाहेरी दिएका थिए।
त्यसअघि उनले महानगरीय प्रहरी परिसर जावलाखेल र प्रहरी प्रधान कार्यालयमा पनि उजुरी दिएका थिए। जाहेरी परे पनि राष्ट्रिय मानवअधिकार आयोगमा जाने सहमति भएपछि प्रहरी छानबिन अघि नबढेको वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बताए।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४