नुवाकोट । २०७२ को विनासकारी गोरखा भूकम्पले क्षति पुगेका जिल्लाका स्वास्थ्य संस्थाको निर्माण युएनडीपीले गरिदिने भएको छ । जिल्लामा यसअघि कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएका भवनहरूको निर्माणको जिम्मा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले लिएको हो ।
जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको हो ।
जिल्लाको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । तर निर्माणको जिम्मा लिएको एक वर्षसम्म काम नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको जिल्ला जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले जानकारी दिए ।
एकवर्षअघि नेपालका लागि कोरियाली राजदूत आएर बेलकोटमा रहेको स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरेका थिए । तर भवन निर्माणको काम भने अगाडि बढ्न सकेन् ।
दश स्थानमध्ये दुईपिपल स्वास्थ्य चौकी निर्माणका लागि नेपाल सरकारबाट बजेट प्राप्त भए पनि बाँकी नौ स्थानका स्वास्थ्य चौकी निर्माण युएनडिपीमार्फत गराउन लागिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४