काठमाडौँ । मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । व्यूरोका निर्देशक डिआइजी पुष्करले कार्कीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।
केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको थियो । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।
खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।
यसअघि कलाकार राजेन्द्र खड्गीले रातोपाटीसँग कुरा गर्दै कोरियामा छाडेको भनिएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको दाबी गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४