काठमाडौँ । प्रदेश २ को सरकार गठनको विषयमा राजपा र फोरमबीच सम्बन्ध चिसिन थालेको छ । स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सुरु भएको संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश २ को सरकार गठनको संघारमा चिसिन पुगेको छ।
प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको राजपाले प्रदेश सरकारमा महत्वपूर्ण पदमा दाबी नछोडेपछि फोरम झस्किएको हो । राजपाले हैसियतभन्दा बढी पद दाबी गरेको आरोप फोरमले लगाएको छ। उसले प्रदेश सरकारका लागि राजपाको विकल्पमा गृहकार्यसमेत सुरु गरेको स्रोतले जनाएको छ।
प्रदेश २ का १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन् । यी दुई पार्टीले ल्याएको सिटसंख्या जोड्दा प्रदेशसभामा बहुमत पुग्छ। यही मतका आधारमा सरकार गठन तयारीमा जुटेका फोरम र राजपाबीच भागबण्डाका विषयमा मंगलबार भएको छलफल बिनानिष्कर्ष टुंगियो। पद बाँडफाँडसँगै उनीहरूबीच आन्दोलनका एजेन्डामा समेत मतैक्यक हुन सकेको छैन।
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४