काठमाडौँ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।
जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ ।
रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) रेल्वे लाइन निर्माणको काम जारी रहेको बताए । ‘भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ, त्यो भनेको रेल कुद्ने अवस्था हो,’ उनले भने ।
६९ किलो रेलमार्गमा आठ स्टेसन र ६ वटा हल्ट
जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा आठ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन रहेको छ । त्यस्तै, मैनाथपुर, देउरी परवहा, जनकपुर, महोत्तरीको लोहरपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेको छ । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहनेछ । जयनगरमा ४ लाइन, इनर्वामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४