काठमाडौँ । सरकारले स्थानीय तहमा खटिने कर्मचारीको दरबन्दी संख्या तय गरेको छ । संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६२९ जना कर्मचारीको अस्थायी दरबन्दी तयार पारेको हो ।
मुलुकभर रहेका ७५३ स्थानीय तहका लागि अावश्यक जनशक्तिका अाधारमा अस्थायी दरबन्दीको संख्या निर्धारण गरेको हो । स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउने तयारी गरिरहेको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए ।
अहिले स्थानीय तहमा रहेका १७ हजार २०९ कर्मचारीमा संख्या थप गरी नयाँ दरबन्दी कायम गरिएको हो । तत्काल १९ हजार ४२० कर्मचारीलाई दरबन्दी तय गरिएको हो ।
मन्त्रालयले तयार पारेको स्थानीय कर्मचारीको अस्थायी दरबन्दी समिटिएको स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था २०७४ मा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई समेत दुई–दुई भागमा विभाजन गरेर दरबन्दी तयार पारिएको हो ।
कहाँ कति दरबन्दी ?
- २० हजारसम्म जनसंख्या भएका २२४ गाउँपालिका ६,७५६
- २० हजार बढी जनसंख्या भएका २३६ गाउँपालिका ८,९७०
- १ लाखसम्म जनसंख्या भएका २७० नगरपालिका १६,२५४
- उपमहानगरपालिका र लाख बढी जनसंख्या भएका १७ नगरपालिका २,७२०
- संघीय राजधानीबाहेकका ५ महानगरपालिकामा १,५६९
- काठमाडौं महानगरपालिका ३६०
- जम्मा ३६,६२९
प्रस्तावित दरबन्दीअनुसार २० हजारसम्म जनसंख्या रहेको गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा प्राविधिक र प्रशासनका गरी १७ जना कर्मचारी रहनेछन् । त्यस्तै सो गाउँपालिकाको वडा कार्यालयमा प्राविधिक र प्रशासन एक–एक जना कर्मचारी रहनेगरी दरबन्दी सिर्जना गरिएको छ ।
२० हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा उपसचिवको नेतृत्वमा २३ जना प्राविधिक र प्रशासनका कर्मचारीको दरबन्दी तय भएको छ । त्यस्तै यी गहका वडामा एक जना प्राविधिक र एक जना प्रशासनका कर्मचारीको दरबन्दी तय भएको छ ।
मन्त्रालयले १ लाखसम्मको जनसंख्या भएका २७० नगरपालिकामा उपसचिवको नेतृत्वमा ३८ जना कर्मचारी नगरपालिका कार्यालयमा र वडामा एक जना प्रशासन र एकजना प्राविधिक गरी दुई जनाको दरबन्दीसहित कुल १६ हजार २५४ दरबन्दी प्रस्ताव गरिएको छ ।
उपमहानगरपालिका र लाखभन्दा बढी जनसंख्या भएका १७ नगरपालिकामा सहसचिवको नेतृत्वमा नगरपालिकाको कार्यालयमा कुल ८४ जना र नगरपालिकाका वडामा चार–चार जना गरी कुल २ हजार ७२० कर्मचारी प्रस्ताव गरिएको छ ।
अस्थायी राजधानी रहेको बाहेकका महानगरपालिकाका लागि कुल ११५ कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ । महानगरपालिकाका वडामा सात जनाको दरमा दरबन्दी प्रस्ताव भएको छ । ५ महानगरपालिका कार्यालयमा ११५ जनाको दरमा जम्मा ५७५ जना र वडामा ९९४ सहित कुल १ हजार ५६९ दरबन्दी प्रस्ताव गरिएको छ ।
संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका कार्यालयमा सचिवको नेतृत्वमा १३६, ३२ वडा कार्यालयमा सात जनाका दरले २२५ गरी कुल ३६० जना कर्मचारीको अस्थायी दरबन्दी प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४