काठमाडौं । बलत्कार काण्डलार्इ ढकाछोप गरेको अारोप लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका हुन् ।
इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
माझीसँगै प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल पनि निलम्बनमा परेका छन् । सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु भएको छ । उनले एसपी माझीको निर्देशनमा बालिका बलात्कारको घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको छ । अहिले यो घटनामा छानविन भइरहेको छ ।
यसअघि १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । उनी अहिले १० कक्षामा अध्ययन गरिरहेकी छिन् ।
पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् । सोही आधारमा जुकल लिम्बु पक्राउ परिसकेका छन् भने अर्का एकजना अझै फरार छन् ।
सुनसरीका एसपी माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी मंगलबार निलम्बनमा परेका हुन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०७४