मोरङ । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन भएको छ ।
सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गरेका थिए । उनले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गरे ।
उनले यही माघ २९ गते हुने प्रदेश सभामुख निर्वाचनका लागि आज सूचना जारी गर्न प्रदेश सचिवालयलाई आह्वान गर्दै आगामी माघ २९ गतेसम्मका लागि सदन स्थगित गरिएको जानकारी गराएका थिए ।
पूर्वाभ्यास बैठकमा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सचिवालयका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
सोही अवसरमा प्रदेशसभा सञ्चालनका क्रममा आइपर्ने विभिन्न बाधा व्यवधानको समस्या समाधान गर्न मर्यादापालकले गर्नुपर्ने कार्य सम्बन्धमा पनि पूर्वाभ्याससमेत गरिएको थियो ।
यता प्रदेश १ को पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा भोलि अपराह्न १ बजेदेखि अधिवेशनको शुभारम्भ हुनेछ । सो सभा भवनमा पहिलो अधिवेशन सञ्चालनका लागि तयारी पूरा भइसकेको संसद् सचिवालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।
सभा भवन परिसरको सुरक्षाको व्यवस्था पनि चुस्त गरिएको छ । भवनको प्रवेशद्वारमा ‘मेटल डिटेक्टर’को पनि व्यवस्था गरिएको छ ।
सभा भवन साघुँरो भएकाले सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिका लागि परिसरमै बस्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए । परिसरबाट टिभी वा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४