काठमाडौं । चीनले काठमाडौं उपत्यकाको चक्रपथको पूरै खण्ड निर्माण गरिदिने भएको छ । २७ किलोमिटर लामो चक्रपथलार्इ चीनले ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको हो । हाल चीनले कलंकी-सातदोबाटो-कोटेश्वरखण्ड (१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले बनार्इरहेको छ ।
बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको हो । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ।
अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने काम विभागले अगाडि बढाउने छ । त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ।
चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अाठ लेनको बनाउने छ । चिनियाँ कम्पनीले कलंकी-कोटेश्वर खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ। कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना अनुसार काम अगाडि बढिरहेको छ ।
पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ। त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने श्रेष्ठले जानकारी दिए ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार भएको छ ।
कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको छ। अध्ययन प्रतिवेदन चिनियाँ कम्पनीलाई उपलब्ध गराइसकिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।
यसैबीच कलंकीदेखि कोटेश्वरसम्मको १० किमि सडक विस्तारको काम करिब ८० प्रतिशत पूरा भएको छ। काठमाडौं चक्रपथ सुधार आयोजनाका सूचना अधिकारी निराजन अर्यालले मुख्य काम सकिएको र अब सडक निर्माण भएका स्थानलाई फिनिसिङ गर्न बाँकी रहेको जानकारी दिए। कलंकीको अन्डरपास पनि ८० प्रतिशत पूरा भइसकेको छ
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४