काठमाडौँ । माओवादी लडाकुको शिविर राखिएको गैरीगाँउ तिलामा जनयुद्ध संग्रालय निर्माण गरिने भएको छ । द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको हो । तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो ।
सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भेक्षणको काम सुरू भएको छ । तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दहवन, गैरीगाउँ र मसिनालगायत मुलुकभर २८ वटा शिविर स्थापना गरिएको थियो ।
रोल्पाको नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । रोल्पाका जिल्ला समन्वय समिति संयोजक राजबहादुर बूढाका अनुसार तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको हो ।
संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाबारे जानकारी दिन सकिने संरचना निर्माण गरिनेछन् । शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेपछि भएका परिवर्तन र तत्कालीन अवस्थामा सशस्त्रसंघर्ष हुनुका कारणबारे अभिलेखीकरणका लागि संग्रहालय निर्माण गर्न लागिएको हो ।
२० रोपनी सरकारी वन क्षेत्रभित्र उक्त संग्रहालय बनाउन लागिएको हो । जिससमार्फत करिब साढे १२ करोड लगानीमा निर्माण गरिने संग्रहालयका लागि पहिलो चरणमा एक करोड बजेट विनियोजन भएको संयोजक बुढामगरले जानकारी दिए । उनी तत्कालिन
दहवनस्थित पाँचौं डिभिजनमा कार्यवाहक कमान्डरको समेत भूमिका निर्वाह गरेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४