काठमाडौँ । २४ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लाग निर्वाचन आयोगले १२ हजार मतपत्र छापेको छ । निर्वाचन हुने ६ वटा प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकोमा आयोगले १२ हजार मतपत्र छापेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक समूहमा फरक फरक मतपत्र आवश्यक पर्ने भएकाले सो संख्यामा मतपत्र छापिएको बताए ।
प्रत्येक समूहमा फरक फरक मतपत्र चाहिन्छ, आयोगले क्लस्टरअनुसार मतपत्र छापेको हो । त्यसो गर्दा अन्य निर्वाचनमा भन्दा बढी मतपत्र आवश्यक पर्छ,’ प्रवक्ता ढकालले भने ।
प्रत्येक मतदाताले छुट्टाछुट्टै समूहका लागि चार वटा मतपत्रमा मत हाल्नुपर्ने भएकाले समेत मतपत्र बढी आवश्यक पर्ने उनले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि हरियो र रातो दुई रङका गरी चार प्रकारका मतपत्र छापेको छ । राष्ट्रिय सभाको निर्वाचनमा कूल २ हजार ५६ जना मतदाता रहेकोमा प्रदेश २ मा सबै उम्मेदवार निर्विरोध भएपछि अब निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाता १ हजार ६ सय ७७ जना हुनेछन् ।
७ सय ५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेकोमा प्रदेश २ का २ सय ७२ स्थानीय तहका मतदाता मतदान प्रक्रियामा सहभागी हुनेछैनन् । यस्तै, कूल ५ सय ५० प्रदेश सांसदमध्ये प्रदेश २ का १ सय ७ जना प्रदेश सांसदसमेत मतदानमा सहभागी हुनेछैनन् ।
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश २ बाट भने आवश्यक पर्ने आठै जना निर्विरोध निर्वाचित भइसकेका छन् । ८ जनामा ३ जना महिला, ३ जना अन्य समूह, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांग निर्वाचित हुनु पर्नेछ । राष्ट्रिय सभामा स्थानीय तहका प्रतिनिधिको प्रतिमतभार १८ र राष्ट्रिय सभाको सदस्यको मतभार ४८ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४