काठमाडौँ । प्रदेश ७ को मुख्यमन्त्री माअोवादी नेता त्रिलोचन भट्ट हुने भएका छन् । माअोवादी केन्द्रका तर्फबाट डोटीको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद भट्टलाई मुख्यमन्त्री बनाउन सो पार्टीले सिफारिस गरेको हो ।
बामगठबन्धनको बहुमत भएको प्रदेशमा एमाले र माअोवादी केन्द्रका साझा मुख्यमन्त्रीका उम्मेदवार भएका छन् । यसअघि दुर्इ दलबीचको सहमतिमा प्रदेश ७ को मुख्यमन्त्री माअोवादी केन्द्रको भागमा परेको छ ।
सोही अनुरुप माओवादी केन्द्रको ७ नम्बर प्रदेश कार्यालयले शुक्रबार प्रदेश सांसद भट्टलाई मुख्यमन्त्रीका लागि केन्द्रमा सिफारिस गरेको माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य लेखराज भट्टले जानकारी दिए । भट्ट, प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको प्रदेश कार्यालयले उनको नाम सिफारिस गरेको हो ।
मुख्यमन्त्रीका लागि कैलालीका वीरमान चौधरी, अछामका झपटबहादुर बोहरा, अछामका अक्कल रावलको सँगै भट्टको नाम पनि चर्चामा रहेको थियो ।
यहाँ पहिलो प्रदेशसभाको पहिलो बैठक आइतबार १ बजे नेपाली कांग्रेसतर्फबाट समानुपातिक ज्येष्ठ सांसद दिब्यश्वरी शाहको अध्यक्षतामा बस्ने र ३ फागुनभित्रै मुख्यमन्त्रीको चयन गर्ने तयारी थालिएको ७ नम्बर प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
यो प्रदेशमा एमालेका २५ जना, माओवादी केन्द्रका १४ जना, काँग्रेसका १२ जना र राष्ट्रिय जनता पार्टीका दुई जना गरी ५३ जना सांसद रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४