चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अपराध न्यूनीकरण र रोकथाम गर्न, अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्नको लागि आकस्मिक चेकजाँच सञ्चालन गरेको छ । पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरु चितवनबाट पक्राउ पर्न थालेपछि प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको हो ।
नेपालको मध्य भागमा पर्ने चितवनमा पछिल्लो समय अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुको अखडाको रुपमा देखिन थालेको छ । राजधानी लगायत जिल्लाका अन्य भागमा अपराधिक क्रियाकलाप गरेपछि लुक्ने जिल्लाको रुपमा चितवन निनिएको छ । विभिन्न घटनामा संलग्न व्यक्तिहरु चितवनबाट पक्राउ पर्न थालेपछि प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको हो ।
ट्राफिक प्रहरीसहितको प्रहरीको आकस्मिक टोलीले प्रत्येक दिन चितवनका विभिन्न १३ ठाउँमा चेकजाँच गर्ने गरेको छ । चितवनमा कुनै पनि अपराधिक घटना तथा गुण्डर्दीका घटना हुन नदिनको लागि प्रहरीले आकस्मिक चेकजाँचलाई अगाडि बढाएको हो । साना हातहतियार तथा लागु औषध बोकेर हिंड्ने व्यक्तिहरुलाई केन्द्रित गरेर चेकजाँचलाई सुरु हो ।
प्रहरीले सञ्चालन गरेको आकस्मिक चेकजाँचलाई चितवने जनताले सकारात्मक रुपमा लिएकाछन् । लागू औषध तथा अन्य कारोबारका लागि चितवन ट्रान्जिट बन्दै गरेको अवस्थामा आकस्मिक चेकजाँचले चितवनमा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास रहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४