चितवन । चितवनमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि चुलो रेष्टुरेन्टले जितेको छ । जिल्ला खेलकुद विकास समिति चितवन र जिल्ला भलिबल संघ चितवनद्वारा सहिद दिवसको अवसरमा आयोजना गरिएको वृहत जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा डीवाईसी बलुवालाई तीन शुन्यको सोझो सेटमा हराउँदै चुलोले उपाधि कब्जा गरेको हो । चुलो रेष्टुरेन्टले उपाधिसँगै ट्रफी, २० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको डिवाईसी बलुवाले १० हजार रुपैयाँको साथमा ट्रफी हात पारेको छ । त्यस्तै, प्रतियोगिताको सेमी फाइनलबाट बाहिएका मगर उत्थान समाज र पीपरा युवा क्लबलाई तीन÷तीन हजार रुपैयाँ दिइएको छ । विजेता, उपविजेता तथा सेमी फाइनलबाट बाहिरिएका समूहका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सेमी फाइलनमा चुलो रेष्टुरेन्टको समूहले मगर उत्थान समाजलाई र डीवाईसी बलुवाले पिपरा युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
सहिद दिवसको अवसर पारेर माघ १६ गतेदेखि भरतपुरको गेष्ट हाउस चौरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा चितवनका २० वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगिताबाट उत्कृष्ट जिल्लास्तरीय भलिबल खेलाडी छनौट गर्दै प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । भलिबल प्रतियोगिताको पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति चितवनका उपाध्यक्ष झलक गुरुङको अध्यक्षतामा भएको थियो भने विजेताहरुलाई समितिका अध्यक्ष गंगालाल लामा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकाल, जिल्ला भलिबल संघका अध्यक्ष प्रकाश चुकेलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४