काठमाडौँ । दुर्इ चरणमा भएको प्रदेशसभा निर्वाचनको खर्च बुझाउन निर्वाचन अायोगले राजनीतिक दलहरूलार्इ सूचना जारी गरेको छ । प्रदेशसभा तर्फ समानुपातिक तर्फको निर्वाचन खर्च बुझाउन अायोगले राजनितिक दलहरूलार्इ सूचना जारी गरेको छ ।
आयोगले प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका राजनीतिक दललाई उक्त निर्वाचनमा खर्चको विवरण निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र पेश गर्ने निर्देशन दिएको छ ।
प्रदेश सभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजारका दरले खर्च गर्न सक्ने रकमको सीमा हद तोकेको थियो । निर्वाचनको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रदेश सभा सदस्यको समानुपातिक तर्फको गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम गत माघ ३ गते अायोले सार्वजनिक गरेको थियो ।
प्रदेशसभा र प्रतिनिधिसभा तर्फको निर्वाचन एकैपटक सम्पन्न भए पनि अायोगले प्रतिनिधिसभा तर्फको समानुमातिक निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छैन् ।
यसैबीच अायोगले राजनीतिक दलहरूलार्इ वार्षिक आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४