काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पढार्इ सेमेस्टर प्रणालीमा लागु गरेको छ । यसै वर्ष देखि सबै क्याम्पसहरूमा त्रिविले सेमेस्टर प्रणाली लागु गरेको हो ।
त्रिविले केन्द्रीय विभागहरूमा तीन वर्ष अगाडि नै सेमेस्टर प्रणाली लागु गरेको थियो भने उपत्यकाका क्याम्पसमा गत वर्ष देखि लागु सेमेस्टर प्रणाली अब देशैभरका स्नातकोत्तर तह पढार्इ हुने क्याम्पसहरूमा लागु गर्न लागेको हो ।
यस विषयमा त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । त्रिविका सबै ६० वटा आंगिक क्याम्पसहरूमा यो प्रणाली लागु हुने छ । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ ।
उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए । प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ ।
कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ । त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४