चितवन । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा प्रहरीको कारवाहीमा घाइते भएका छन् । फरार कैदी टिके मुग्लिन बाट नारायणगढ अाँउदै गरेको सूचनाका अाधारमा प्रहरीले उनलार्इ चितवनको रामनगरमा कुरेर बसेको थियो ।
रामनगरस्थित ओम साई पेट्रोल पम्प अगाडी सवारी चेकजाँच गर्ने क्रममा शनिबार साँझ ना ४७ प ५०५२ नं. को मोटर साइकल रोकी चेकजाँच गर्ने क्रममा मोटर साईकलमा पछाडी सवार गरी आएको व्यक्तिले एक्कासी प्रहरीलाई लक्षित गरी फायर खोले पछि प्रहरीले जवाफी फायर खोलेको थियो ।
प्रहरीले चलाएको दुर्इवटा गोली टिकेलार्इ लागेको छ । भरतपुर अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि बीर अस्पताल ट्रमा सेन्टर, काठमाण्डौ तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए ।
उनको दाहिने तिघ्रा र दाहिने हातमा गोली लागेको छ । उनी डिल्ली बजार कारागार, काठमाण्डौबाट भागी फरार भएका थिए । जवरजस्ती चोरी/डाँका मुद्दाका अभियुक्त हुन् ।
ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रवक्ता ढकालले जानकारी दिए । घटनामा घाइते भएका टिकेलाई प्रहरीले भ्यानमा हालेर भरतपुर अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४