नुवाकोट । उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालार्इ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा वितरण गर्न थालेको छ । जिल्लामा भूकम्पले बस्ती जोखिममा परी विस्थापित लच्याङका १४ परिवारलाई प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापना गर्न सुरू गरेको हो ।
त्यसका लागि प्राधिकरणले हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरेको छ । सो स्थानमा गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । प्राधिकरणको जिल्ला समन्वय समितको कार्यालयका अनुसार सरकारी अनुदान सहयोगमा चार रोपनी जग्गा खरिद गरी विस्थापितका लागि पुनःनिर्माणअन्तर्गत एकीकृत बस्तीको आवधारणानुसार आवास निर्माण गर्न लागिएको छ । यो जिल्लाकै पहिलो एकीकृत बस्ती हुने छ ।
विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले सूर्यगढी गाउँपालिका–१ लच्याङको भीरमुनि टोलका १४ परिवार विस्तापित भएका थिए । उनीहरूका लागि प्राधिकरणले १४ लाख रूपैयाँमा चार रोपनी जग्गा खरिद गरी सुरक्षित स्थानमा स्थान्तरण गराउन बस्ती निर्माण अघि बढाएको हो ।
खरिद गरिएको जग्गामा विकासका पूर्वाधार नभएकाले एकीकृत बस्तीमार्फत सुविधा उपलब्ध गराउन लाभग्राहीबाट उपभोक्ता समिति गठन गरी निवेदन माग गर्न लागिएको सचिवालयले जनाएको छ ।
पुनःनिर्माण कार्यविधिअनुसार कम्तीमा १० परिवार मिलेर एकीकृत बस्ती निर्माणका लागि निवेदन दिएमा पुनःनिर्माण प्राधिकरणले विकासका पूर्वाधारमा एक परिवारका लागि रु चार लाखसम्म लगानी गर्ने प्रावधान छ ।
भौगर्भिक अध्ययन प्रतिवेदनअनुसार जोखिम बस्तीको सूचीमा विभिन्न बस्तीका ३२१ परिवार सूचीकृत भएकाले स्थान्तरण गर्न सिफारिश गरिएको छ । जोखिमपूर्ण बस्तीमध्ये यसअघि दुई चरणमा तादी–१ उर्लेनीका ७२ मध्ये ५१ परिवारलाई तादी–३ खरानीटारमा जग्गा उपलब्ध गराइएको थियो ।
भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा पनि अझै जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण नहुँदा सर्वसाधरणहरू जोखिमपूर्ण बस्तीमा अस्थायी टहरामा बस्दै अाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४