संखुवासभा । संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको निर्माण तिब्र गतिमा भइरहेको छ । योसँगै स्थानीय छिट्टै अाफ्नो बस्तीमा सडक पुग्ने अाशमा खसी छन् ।
उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण हुँदै छ । सडक निर्माणको जिम्मा थोदुङ् कुन्सालिङ जेभी कम्पनीले पाएको छ । निर्माण कम्पनीका सीताराम तामाङका अनुसार यो ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ ।
स्थानीय बासीले समेत निर्माणकर्तालार्इ सडक निर्माण गर्न सहयोग पुराइरहेका छन् । छ महिना अगाडि सडक निर्माण सुरू भएको थियो ।
चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले जानकारी दिए । सो सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरी संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ ।
अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले जानकारी दिए ।
सडक निर्माण कार्य सम्पन्न भएपछि व्यापारिक एवं पर्यटकीय महत्वको चैनपुर बजारबाट पोखरी हुँदै नुनढाकीसम्मका स्थानीयवासीको दैनिक जीवनयापन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहजता आउनुका साथै आर्थिक कारोबारमा थप वृद्धि हुनेमा स्थानीयवासी आशावादी छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४