चितवन । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा अझै केही उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएका हुन् ।
स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले अझै खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा सबैभन्दा बढी भरतपुर महानगरका उम्मेदवार छन् । महानगरका २८१ उम्मेदवारले अझै खर्च विवरणा बुझाएका छैनन् । त्यस्तै खैरहनी नगरपालिका १५२, रत्ननगर नगरपालिका १४९ र माडी नगरपालिका १४३ जना उम्मेदवारले खर्च विवरण नबुझाएको ढकालले जानकारी दिनुभयो ।
त्यस्तै खर्च विवरण नबुझाउनेमा कालिका नगरपालिकाका ८१ र इच्छाकामना गाउँपालिकाका २२ उम्मेदवार रहेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताउनुभयो ।
यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन् । यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताउनुभयो । खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४