काठमाडौं । नेपालको एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललार्इ लक्षित गरी स्थापना गरिएको नयाँ राडर अागामी महिनाबाट सञ्चालनमा अाउने भएको छ । जापान सरकारको अनुदान रकममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ललितपुरको भट्टेडाँडामा स्थापना गरिएको आधुनिक प्रविधिको ‘मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडर आगामी फेब्रुअरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।
नयाँ राडर सञ्चालनमा आएपछि नेपालको हवाई क्षेत्र अझै सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दाबी गरे । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडर ले दुई सय ५० नटिकल माइल (चार सय ५० किलोमिटर) सम्मका जहाजका सम्पूर्ण जानकारी दिने छ । नयाँ राडरले जुनसुकै कम्पनीको जहाजको पनि पहिचान गर्ने आयोजनाका प्रमुख सञ्जीवसिंह कठायतले जानकारी दिए। यसअघि सञ्चालमा रहेको पुरानो राडरले चार हजार ९६ जहाजको मात्रै पहिचान दिन सक्थ्यो ।
यसैगरी त्रिभुवन विमानस्थलमा जडान गरिएको ‘टर्मिनल मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडर ले दुई सय नटिकल माइल (तीन सय ६० किलोमिटर) क्षेत्रमा रहेका जहाजको अवस्था देखाउने उनले जानकारी दिए । अहिले प्रयोगमा रहेको पुरानो ‘विमानस्थल सर्भिलियन्स राडर र ‘सेकेन्डरी सर्भिलियन्स राडर ले ५० नटिकल माइल क्षेत्रको मात्रै जानकारी उपलब्ध गराउँथ्यो।
जापान सरकारको अन्तर्राष्ट्रिय नियोग (जाइका)को नौ सय ८९ मिलियन जापानिज यन र प्राधिकरणको १५ करोडसहित करिब एक अर्ब १५ करोड रुपैयाँमा राडर जडान गरिएको प्राधिकरणले जनाएको छ। नयाँ राडरबाट पूर्वका सबै भाग र पश्चिममा सुर्खेतसम्मको हवाई क्षेत्रमा उडेका विमानको गति, उचाई, प्रकार, एयरलाइन्सलगायत विवरण थाहा पाउन सकिनेछ ।
नयाँ जडान गरिएको राडरको परीक्षण अमेरिकास्थित फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) बाट ल्याइएको विशेष जहाजमार्फत गरिएको थियो।
राडरको फ्लाइट क्यालिबे्रसनको सफल परीक्षण भएको करिब दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भएको छ। अहिले विमानस्थल कार्यालयले पुरानो र नयाँ दुवै राडरबाट काम गरिरहेको छ।
नयाँ सञ्चालनमा आउने राडरमार्फत एयर ट्राफिक कन्ट्रोलरले त्रिभुवन विमानस्थल अवतरण हुने जहाजका लागि नयाँ नम्बर उपलब्ध गराउने छन् । उपलब्ध भएको नम्बरमा विमान चालकले सम्पर्क गर्छन्। त्यसपछि विमानस्थलको टावर कन्ट्रोलले सम्पर्कमा आएको जहाजलाई प्रमाणित गर्छ।
टावरले पूर्णरूपमा जहाजको निगरानी र नियन्त्रण गर्दै आवश्यक निर्देशन दिनेछ । त्यसपछिको सम्पूर्ण जिम्मा एयर ट्राफिककै हुन्छ। यसबाट जहाजको दूरीलाई आवश्यकताअनुसार नियन्त्रण गर्न सकिन्छ। यसरी एयर ट्राफिक बढेको अवस्थामा जहाजलाई कन्ट्रोल गरी लामो रुट तय गर्ने काम गर्छ। यसले बढ्दो एयर ट्राफिकका कारण आकाशमा जहाज होल्डिङ हुने अवस्थामा पनि यात्रुलाई थाहा नहुने महानिर्देश गौतमले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४