२७ पुस, जाजरकोट । तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप तीन जनाको मृत्यु भएको छ । मंगलबार एक जना र बुधबार थप तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । भाइरल नियन्त्रणबाहिर गएको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको हो । त्यस्तै जुनीचाँदे –५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको ज्यान गएको छ । उनीहरु दुवैको उपचारको अभावमा मृत्यु भएको हो । भण्डारी शिविरमा आएर पनि राम्रो उपचार नपाएपछि निजी मेडिकलमा गएको र त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागेका थिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४