२७ पुस, कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ । प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो । विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ । उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने अपेक्षा गरिएको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताएका छन । उनका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ । यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको थियो । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन र अनुसन्धानको कार्य थाल्दै आएका हुन् ।
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४