२६ पुस, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाह्यस्वरुप परम्परागत ढाँचामा रहने गरी दरबार हाइस्कूलको पुनःनिर्माण यथाशीघ्र शुरु गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले नेपाल र चीनबीच भएको समझादारीअनुसार परम्परागत ढाँचाबमोजिम नै दरबार हाइस्कूलको बाहिरी स्वरुप देखिने गरी पुनःनिर्माण गर्ने निर्णय गरेको हो । बैठकले अपाङ्गमैत्री संरचनामा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिने खालका कक्षाकोठा, शौचालय, प्रयोगशाला बनाउनुपर्नेमा जोड दिएको हो ।
विद्यालयको पुनःनिर्माण अविलम्ब सम्पन्न गर्न शिक्षा मन्त्रालय, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाई, पुरातत्व विभाग र काठमाडौंँ महानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरिदिने सहमति भएको प्राधिकरणले जनाएको छ । बैठकमा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनाल, महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मा, अर्थ मन्त्रालयमा चीन डेस्क हेर्ने उपसचिव युवराज पाण्डे, परराष्ट्र मन्त्रालयका उपसचिव कुमार राई लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४