१९ पुस, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई आग्रह गरेका छन । नेकपा (एमाले)का भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण गराए । संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उनले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षा गर्न सुझाव दिए । प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेश प्रमुख खोइ ? निर्वाचनको परिणाम आउनेबित्तिकै किन आत्तिनुभएको ? पवित्र उद्देश्यले संविधान र कानूनअनुसार काम गरेको संस्थामाथि लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय हो ।” प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा घोषणा गर्नका लागि काम नसकिएको जनाउँदै उनले कानूनमा स्पष्टरुपमा भएका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यावहारिक नहुने धारणा राखे ।
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४