१५ पुस, काठमाडौं । आज तमु ल्होसार पर्व गुरुङ समुदायले मनाउँदैछन् । गुरुङहरुको नयाँ वर्ष आजबाट सुरु हुन्छ । यही नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिएका छन । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङ बताउँछन् । यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४